असार ३,२०८३ / ०१ : ०७ पूर्वान्ह / 2026-06-17 01:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      सापकोटा निर्विरोध घोषणा १२ गते

      - ६ वर्ष अगाडि
      माघ ८,२०७६

      काठमाडौं, प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अग्निप्रसाद सापकोटा निर्विरोध हुनुभएको छ। मनोनयन दर्तामा अन्य दलबाट उम्मेदवारी नपरेसँगै सापकोटा निर्विरोध हुनुभएको हो। मंगलबार निर्धारित समयमा सापकोटाको मात्र उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध सभामुख हुने निश्चित भएको छ।

      तर सभामुखको निर्वाचन कार्यतालिकाअनुसार सभामुख चयनको औपचारिक घोषणा भने माघ १२ गते हुनेभएको छ। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्धारित कार्यक्रमअनुसार माघ १२ गते बस्ने संसद्को बैठकबाट सभामुखको घोषणा हुने बताउनुभयो।

      संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। सापकोटाले संसद् भवन बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो।

      नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव तथा पार्टीका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो।

      सभामुखका उम्मेदवार सापकोटाले सार्वभौम संस्थाको ओझ बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो। उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘संसद्को गरिमा र मूल्य–मान्यता उच्च बनाइराख्ने काममा लाग्नेछु।’

      आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास पात्र मानिनुहुन्छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d