काठमाडौं, राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जनाको आउँदो २० फागुनमा पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने छ । १८ जनाको निर्वाचन माघ ९ गते हुँदैछ ।
राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । राष्ट्रियसभामा १८ मध्ये २ स्थानमा राष्ट्रिय जनता पार्टी र १६ सांसद नेकपाकै निर्वाचित हुने निश्चित छ । कांग्रेसले पहिलो दुईवर्षपछि सात सदस्य राष्ट्रियसभामा गुमाउँदैछ । ५९ सदस्यीय सभामा कांग्रेसले १३ सांसद पाएको थियो । जसमा ७ जनाको कार्यकाल सकिएको छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेशसभा सदस्य ५५० गरी २०५६ मतदाता छन् । जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् । स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । जसमा सत्तारुढ दल नेकपाको बलियो उपस्थिति छ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । कांग्रेस अब ६ सांसदमा सीमित हुनेछ ।
नेकपा भने १६ सांसद भित्र्याउँदै थप बलियो बन्ने देखिन्छ । कुनै पनि प्रदेशमा सरकार बनाउन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेसको स्थानीय तहमा पनि कमजोर उपस्थिति छ । राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छानिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना हुनेछन् । दुईवर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट बिदा हुनेमा नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना रहेका छन् । सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ । त्यस्तै, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । राष्ट्रियसभामा अर्को दुईवर्ष कार्यकाल रहेका २० जना सांसद छन् । दुईवर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुइैवर्ष राष्ट्रिय सभामा रहनेछन् ।।








