काठमाडौं, कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभएको छ ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले हिजो मन्त्रीपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव लानुभएको थियो । तर प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्ताव अहिले पेश नगर्नू भनेर रोकेपछि उपप्रधानमन्त्रीसमेत रहेका यादव रुष्ट बन्नुभएको थियो । त्यसैको नतिजास्वरुप आजै यादवसहित समाजवादी पार्टीबाट सरकारमा रहेका शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले पनि राजिनामा दिनुभएको हो ।
यादवले हिजो संविधान संशोधनका लागि विज्ञ सुझाब समिति गठन गर्ने प्रस्ताव राख्न खोज्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले बिचैमा रोक्नुभएको थियो । राजीनामा पत्रमा मन्त्री यादवले सरकारमा सहभागि हुनुअघि नै संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सत्तारुढ दल नेकपाले त्यसलाई इन्कार गरेको आरोप लगाउनुभएको छ । सरकारले सहमति तोडेकाले नैतिकताका आधारमा आफ्नो दल सरकारमा रहीरहन उचित नभएको यादवको तर्क छ ।








