काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उहाँको पुत्ला दहन गरेको हो । जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुत्ला दहन गरिएको छ । उनीहरुले प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने माग राख्दै उहाँले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिनुभयो ।
जिल्ला सभापति मल्लले प्रजातन्त्रविरोधी क्रियाकलाप रोख्न समेत सरकारलाई आग्रह गर्नुभयो । बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएका सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले आक्रमण गरेको थियो ।








