काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन । चिनियाँ समकक्षी वाङ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा आजबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेका हुन् ।
भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने बुझिएको छ ।
पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार चीनको विकासबाट नेपालले बढि भन्दाबढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना छ। छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि मिती भने निश्चित नभएको बताउदै आएका छन ।








