काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जानकारी दिएको छ । उनको रगत लगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका छन । उनका अनुसार चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली भोलि १२ः३० बजे स्वदेश फर्किने तयारी रहेको छ ।
रिपोर्टपछि चिकित्सकहरुले कुनै सुझाव दिएमा सोहीअनुसार हुने भएकोले बेलुकासम्ममा सम्पूर्ण जानकारी आउने बुझिएको छ । प्रधानमन्त्री ओली यही भदौ ५ गते दोस्रोपटक स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् । त्यसअघि उनी साउन १८ गते सिंगापुरमा उपचार गर्न गएर १० दिन बसेका थिए । त्यसपछी स्वदेश आएको केही समयपछि नै भदौ ५ गते पुनः उपचारका लागि त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गएको अगस्ट २८मा ट्विट गर्दै प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको र उपचार प्रक्रिया अर्को साता सम्ममा पूरा हुने जनाएका थिए ।
उनको उपचार सिंगापुरको नेसनल युनिभर्सिटी हस्पीटलमा गराइएको छ ।








