नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक समीकरण, वरियता र शक्ति सञ्चयका कारण उतारचढाव भैरहेका छन् । वरियताको मुद्धालाई लिएर त नेता माधवकुमार नेपालले छुट्टै ̕लिखित प्रस्ताव नै दर्ता गरेका छन । नेकपाभित्र एक व्यक्ति एक पदको बहस पनि चलिरहेको छ । एक व्यक्ति एक पदको चर्चाले नेकपाको नेतृत्व अब एकलौटी रुपमा पुष्पकमल दाहाल प्रचण्डको हातमा हुन्छ की भन्ने आकलन पनि गर्न थालिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश जाँदा प्रचण्डलाई महत्वपुर्ण निर्णयको अधिकार सुम्पिनुले पनि यस्तो आंकलनमा बल मिलेको छ ।
२०७५ जेठ ४ गते तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भयो । समान अधिकार र कर्तव्य रहने गरी नेकपाको नेतृत्व तत्कालिन एमालेका तर्फबाट केपी शर्मा ओली र तत्कालिन माओवादीबाट पुष्पकमल दाहाल प्रचण्डले गर्दै आउनुभएको छ । समान अधिकार र कर्तव्य रहने सहमति भए पनि नेकपामा प्रचण्ड दोस्रो वरियताको अध्यक्ष जस्तो देखिनुहुन्थ्यो । हरेक मुद्दामा अर्का अध्यक्ष ओलीको दबदवा थियो । त्यसै हुनसक्छ पछिल्लो तीन महिनायता प्रचण्डले आलोपालो सरकारको नेतृत्वको सहमतिको सन्दर्भ उठाउनु थाल्नुभएको थियो । यसका लागि उहाँले बामदेव गौतमसहित प्रभावशाली पूर्व एमालेका नेताहरुको सहमति जुटाउनु भएको थियो । परिस्थितिले एकाएक कोल्टे फेरेको छ । जोसँग अधिकार र शक्ति लिन प्रचण्डको कसरत थियो तिनै पात्र अर्थात प्रधानमन्त्री ओलीलगायतका नेताहरु अहिले एकठाउँमा आइपुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई एक्ल्याएर बनेको नयाँ गठबन्धनपछि प्रचण्ड शक्तिशाली बनेका छन् । मुख्यत प्रधानमन्त्री ओली अस्वस्थ्य भएर पटकपटक विदेशमा जानुपर्ने अवस्थाले एकल रुपमा पार्टी बैठक अध्यक्षताको महत्वपूर्ण जिम्मेवारी उहाँको काँधमा आएको छ ।
तर कतिपय नेताहरुले भने एकजना अध्यक्ष विदेश गएकोबेला अर्कोले अधिकार पाउनु सामान्य विषय भएको टिप्पणी गर्दछन् ।
सरसर्ती हेर्दा यो अधिकार सामान्य देखिए पनि नेकपाभित्र यसले दीर्घकालीन महत्व राख्न सक्ने विश्लेषण छ । अध्यक्ष लामो समयसम्म विदेशमा रहनुपर्ने अवस्था आएमा पार्टीका अधिकांश निर्णय प्रचण्डको काँधमा रहने छ । सत्तारुढ पार्टीको अध्यक्ष भएपछि राज्य संचालनमा पनि उहाँको प्रभाव बढ्ने छ । जसको प्रत्यक्ष प्रभाव कार्यकर्ता पंतिमा पर्न सक्छ । यसबाट सरकार वा पार्टी प्रमुखमध्ये एक आफूले एकल रुपमा पाउनुपर्ने प्रचण्डको दाबी पूरा हुन धेरै कुर्नु नपर्ने अवस्था आउन सक्ने कतिपयको विश्लेषण छ । नेकपाभित्र पछिल्लो पटक भएको ध्रुवीकरण हेरफेरको सन्देश पनि यही हुन सक्छ । विश्लेषण जे गरे पनि आगामी दिनमा नेकपाभित्र र राज्य संचालनमा प्रचण्ड मियोको रुपमा स्थापित हुने निश्चित सरह छ ।








