काठमाडौं , नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको संशोधित विधान अनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले प्रतिवेदन प्रस्तुत गर्नेछ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।
देश संघीय संरचनामा गए पनि त्यसअनुसार कांग्रेसको पार्टी संरचना निर्माण भएको छैन । देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार संरचना निर्माणको विषयमा छलफल हुँदै आए पनि अहिले सम्म सहमति जुट्न सकेको छैन ।








