काठमाडौ, मृत्यु भएर तथा फौजदारी अभियोगमा सजाय पाएका कारण देशभरका जनप्रतिनिधिमूलक संस्थामा ४६ स्थान रिक्त छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी नै नपरेकोबाहेकको यो स्थान हो । त्यसमध्ये प्रतिनिधिसभामा एक र प्रदेशसभामा ३ स्थान रिक्त छ । ती स्थानमा उपनिर्वाचन गराउनेबारे भने अझै सरकार र निर्वाचन आयोग निर्णयमा पुग्न सकेका छैनन् ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र नम्बर २ जनप्रतिधिविहीन बनेको हो । त्यस्तै प्रदेशसभातर्फ भक्तपुरका हरिशरण लामिछानेको मृत्युपछि भक्तपुर १ (क) पनि खाली छ । प्रदेशसभातर्फ नै उत्तरकुमार वलीको निधनका कारण दाङ ३ (ख) र टेकबहादुर घर्तीको निधनका कारण बाग्लुङ २ (ख) पनि जनप्रतिनिधिविहीन छन् ।
यसबीचमा धरान नगरपालिकाका प्रमुख तारा सुब्बाको पनि निधन भएको छ । सहित स्थानीय तहमा यो सहित ४२ स्थान रिक्त छ । त्यसमा केही जनप्रतिनिधि फैजदारी अभियोगमा कारवाहीमा परेपछि निलम्बनमा पनि परेका छन् ।
संघिय देखि स्थानिय तह सम्मको उप निर्वाचन गर्नुपर्ने छ । तर यस विषयमा बहस भए पनि काम भने अगाडि बढेको छैन । संविधानमा रिक्त भएका स्थानमा यति समयभित्र उपनिर्वाचन गरिसक्नुपर्ने भन्ने किटान नगरिएकै कारण उपनिर्वाचन गर्न सरकारलाई हतारो नभएको हुन सक्छ । जसका कारण यी तिनै तहका नागरिकले जनप्रतिनिधिमार्फत पाउनु पर्ने सेवा पाउन सकेका छैनन् । सरकारले संघ, प्रदेश र स्थानीयत तहहरुका वडाध्यक्षसम्मको उपनिर्वाचन गर्न सक्ने गरी ऐन संशोधन गरेको भए पनि निर्वाचन आयोगसँग समन्वय गरेको छैन ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि सरकारले कम्तिमा ९० दिनको समय आयोगलाई दिनुपर्ने हुन्छ । यद्यपि निर्वाचन ऐनमा १२० दिनको समय भनिएको छ । उपनिर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारको भएको भन्दै सरकारले मिति नतोक्दासम्म उपनिर्वाचन कहिले हुन्छ भनेर भन्न नसकिने आयोगको भनाइ छ । तर उपनिर्वाचनका लागि पुर्व तयारी गरिएको बताउँदै बजेटको सन्र्दभमा मिती तय भएपछि मात्र अर्थमन्त्रालयले छुट्याउने भएकाले कति लाग्न सक्छ भन्ने अहिले भन्न नसक्ने उनको भनाइ छ ।
उपनिर्वाचनका लागि तदारुकता नदेखाउँदा खासगरी स्थानीय तहका सेवाग्राहीलाई मर्का पर्न गएको छ । राज्य संरचनाका यी तीन वटै तहका रिक्त स्थानमा कहिले जनप्रतिनिधि आउँलान् भन्ने निश्चित छैन । जसका कारण नागरिकले जनप्रतिनिधिबाट पाउने सेवा कहिलेसम्ममा सहज बन्छ भन्ने पनि अनुत्तरित छ ।








