काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्न खोजेको आरोप लगाउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वा विपक्षी दलको नेता को पहिला बोल्ने भन्ने विषयमा घम्साघम्सी परेको थियो । दुवै पक्षको जिद्दीकाबीच सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई पहिला बोल्न समय दिनुभयो । सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेसले वेल घेराउ ग¥यो । फलस्वरुप प्रधानमन्त्रीले बोल्न पाउनु भएन, बैठक अवरुद्ध भयो । बैठक पुनः बुधवार विहान बस्यो ।
बुधवारको बैठकमा प्रधानमन्त्री आउने र आफनो कुरा राख्ने अपेक्षा गरिएको थियो, तर, आउनु भएन । बैठकको प्रारम्भमै कांग्रेस सभापति एवम संसदीय दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नूभयो । निकै आक्रामक हुँदै देउवाले सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गर्दै अघि बढेको भन्दै यस्तो व्यवहार स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेकोमा आक्रोश व्यक्त गर्नुभयो । मंगलबारको बैठकमा समेत प्रतिपक्षीलाई बोल्न नदिएको सन्दर्भ उप्काउँदै सभापति देउवाले संसारमा पहिले विपक्षीले अनि प्रधानमन्त्रीले बोल्छ भन्ने सामान्य ज्ञान पनि थाहा हुँदैन भनी प्रश्न गर्नुभयो ।
कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउँदै नेता देउवाले आफूले बोल्न खोज्दा सरकार डराउन नपर्ने भन्दै व्यङग्य गर्नुभयो । देउवाले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरेका पनि आपत्ति जनाउनुभयो । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी पनि दिनुभयो ।








