काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । युरोपको भ्रमण् सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
आज ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन ।
संसदीय परम्परा अनुसार राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि धारणा राख्नेछन् ।
सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान गरिएको छ ।
त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्न सक्ने स्रोतले बताएको छ ।








