प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।
चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए ।
प्रधानमन्त्रीनिवासका लागि दुईवटा भवन निर्माण गरिनेछ । एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको हो । निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ भने ‘पब्लिक’ भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ । निवास दुई चरणमा निर्माण गरिनेछ । निजी भवन निर्माण सकेपछि मात्रै ‘पब्लिक’ भवन निर्माण गरिनेछ ।
प्रधानमन्त्रीनिवासमा बनाइने पब्लिक भवन चोक शैली (कन्ट्रीयार्ड कन्सेप्ट)मा बनाइने भएको छ । करिब हजार स्क्वायर मिटर अर्थात् दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको यो भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ । भवन तीन तलाको हुनेछ ।
पूर्वतर्फ फर्काएर बनाइने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन् । भुइँतला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्याइनेछ । जहाँ भव्य क्याबिनेट हल हुनेछ । मन्त्रीहरूसँगको भेटघाट यही हलमा हुनेछ । आपत्कालीन समयमा मन्त्रिषरिषद्को बैठकका लागि पनि प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, ४० जना बसेर खान मिल्ने डाइनिङ हल र एउटा भान्सा निर्माण गरिनेछ । एउटा सञ्चार कोठा बनाइनेछ जहाँ बसेर प्रधानमन्त्रीले मिडिया प्रयोग गर्नेछन् । त्यस्तै, सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष यही तलामा हुनेछ ।
पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौ युनिट बनाइनेछ । यो तला विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । जहाँ भोजभतेरका लागि ब्याङ्क्वेट हल हुनेछ । एउटा गिफ्ट ग्यालरी हुनेछ, प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार यही कक्षमा सजाइनेछ । यो तलामा दुई प्रतीक्षा कक्ष हुनेछन् । त्यस्तै, एउटा होल्डिङ हल हुनेछ जहाँ प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कक्षसम्म जाने आगन्तुकलाई ‘होल्ड’ गराइनेछ । पिए रुम पनि यही तलामा हुनेछ । सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने रुमलगायत संरचना निर्माण गरिनेछ ।
भवनको माथिल्लो अर्थात् तेस्रो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ । जहाँ विभिन्न प्रयोजनका लागि १२ युनिट बनाइनेछ । जस्तै, प्रधानमन्त्री कार्यालय, पुस्तकालय, बगैँचा, स्टुडियो, लबीलगायत संरचना हुनेछन् ।
यो भवनको बीचमा चोक हुनेछ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुनेछ । चोकमा नेपालको विभिन्न संस्कृति झल्कने कला राखिनेछन् । त्यस्तै नेपालका मुख्य धरोहरको नमुनासमेत निर्माण गरिनेछ ।
प्रधानमन्त्रीको निजी निवासमा अति विशिष्ट पाहुनाका लागि पनि कोठा बनाइनेछ । यो भवन साढे दुई तलाको हुनेछ । करिब पाँच सय स्क्वायर मिटर अर्थात् एक रोपनी क्षेत्रफलमा फैलिने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछ । जहाँ गेस्ट रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षाकोठालगायत संरचना रहनेछन् ।
भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तला विशेषगरी प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि प्रयोग गरिनेछ । एउटा मास्टर बेड रुमसहित दुई बेड रुम हुनेछन् । अध्ययन कक्ष, पूजाकोठा, भान्सा र खाना खाने कोठा, लबी, बाल्कोनीसहितको संरचना निर्माण गरिनेछ ।
दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि निर्माण गरिनेछ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ । जस्तै, लबी, सुरक्षा कोठा, गोप्य कोठा, तीनवटा पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठालगायत संरचना बनाइनेछ ।
विभागले गत ११ जेठमा संघीय संसद् भवन निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । आगामी तीन वर्षभित्र सम्पन्न हुने गरी सात अर्ब रुपैयाँ लगानीमा सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा भवन निर्माण गर्न लागिएको हो ।
हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणको तयारी गरेको छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । सुरुमा निजी निवास बन्नेछ, त्यसपछि अहिलेको संरचना भत्काएर ‘पब्लिक’ भवन बनाइनेछ । यसका लागि दुई वर्ष लाग्नेछ ।
नयाँ पत्रिकाबाट








