विराटनगर, विराटनगर स्थित कोइराला निवास वि सं २००७ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनहरूको साक्षी हो । २००७ सालदेखि २०६३ साल सम्मको राजनीतिक परिवर्तनमा कोइराला निवासबाट हुर्किएका व्यक्तिहरूको योगदान छ ।
पिताजी कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसादले विभिन्न कालखण्डमा प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व सम्हालेका थिए । त्यस बाहेक कोइराला निवासबाट राजनीतिक संस्कार सिकेकाहरू धेरै छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला निवासले अगुवाइ गरेको थियो । देशको राजनीतिक परिवर्तनहरूमा योगदान पुर्याएकै कारण दुई दशकयता कोइराला निवासको सुरक्षामा सरकारले प्रहरी युनिट राखेको थियोे । तर बिहीबार एकाएक कोइराला निवासको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् ।
पूर्व जानकारी बेगर कोइराला निवासमा खटिएको सुरक्षा युनिट हटाइएको हो । कोइराला निवासको सुरक्षाका लागि सशस्त्र प्रहरीको युनिट खटिएको थियो । तर बिहीबारबाट सुरक्षार्थ खटिएका प्रहरी फिर्ता भएको कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर कोइराला निवास ‘असुरक्षित’ बनेको उनले बताए ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको सो घर कोइराला परिवारमा अंशबण्डा हुँदा डा शेखर कोइरालाको भागमा परेको छ । पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।
व्यक्तिगत सम्पति भएपनि कोइराला निवास अवलोकनका लागि सर्वसाधरणलाई सधै खुला छ । डा शेखरका निजी सचिव थपलिया अन्य क्षेत्रबाट विराटनगर घुम्न आएका मानिस कोइराला निवास पुग्ने गरेको बताउँछन् । तर सुरक्षा युनिट हटेपछि जोखिम बढेको उनले बताए । सुरक्षाकर्मी हटाउने विषयमा डा कोइरालालाई पनि जानकारी गराइएन । उनले भने ‘सुरक्षाकर्मीहरूले पत्र आयो जान्छौं भनेर जानुभयो ।’
सुरक्षाकर्मीको टोली फर्कदा डा शेखर विराटनगरमा नै थिए । वर्षाै यता घरको सुरक्षाका लागि खटिएको टोली हटेपछि उनले आश्चार्य मानेका थिए ।
नेपालको राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण योगदान पुर्याएको कोइराला निवासलाई संग्रहालयको रूपमा विकास गर्नु पर्ने आवाजहरू उठिरहेका छन् । केहीदिन अघि नेकपा केन्द्रीय सदस्य गुरु बरालले कोइराला निवासलाई संग्रहालयको रूपमा विकास गर्न आग्रह गरेका थिए । आफूले डाक्टर शेखरसँगको भेटमा पनि संग्रहालय बनाउने विषयमा कुरा गरेको बताउँदै उनले विराटनगरका मेयर भीम पराजुलीलाई अगुवाई गर्न आग्रह गरेका थिए ।
अंशवण्डाले छेकियो निवास
विराटनगरको कोशी अञ्चल अस्पताल पश्चिमतर्फ रहेको कोइराला निवास आसपास केही वर्ष अघिसम्म खाली थियो । तर देशका महत्वपूर्ण परिवर्तनमा योगदान गरेको निवासको अधिकांश जग्गा पारिवारिक अंशबण्डा पछि बिक्री भएको छ ।
अंशवण्डा भएको जग्गा शेखर र सुजाताले संरक्षण गरेका छन् । कोइराला परिवारका अन्य सदस्यले पाएको जग्गा विक्री गरे । विक्री भएको स्थानमा भएको जग्गामा घरहरू निर्माण भएका कारण कोइराला निवास छेलिएको छ ।
कोइराला निवास शेखरको भागमा परेको छ । उनले निवास संरक्षण गरेका छन् । कोइराला निवास अगाडि सुजाता कोइरालाले जीपी फाउण्डेशनको भवन बनाएकी छन् । त्यहाँ संग्रहालय बनाउने तयारी छ । फाउण्डेसनले केहीदिन अघि संग्रहालयको शिलान्यास पनि गरिसकेको छ ।
सीडीयो भन्छन् ‘हामीलाई जानकारी भएन’
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी सुरक्षा युनिट हटेको विषयमा प्रशासन कार्यालयलाई जानकारी नभएको बताए । ‘सुरक्षा युनिट हटाउने विषयमा यहाँ कुनै निर्णय भएको छैन ।’ उनले भने ‘मैले पनि आज बिहान मात्र थाहा पाएँ ।’ सुरक्षा युनिट हटाउने विषय केन्द्रकै निर्णय भएकाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी नभएको उनले बताए । उद्घोष पत्रिकाबाट








