काठमाण्डौ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले सरकारी दमनका कारण आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएको बताएका छन्।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको दमन रहेको तर्क गरेका छन्। उनले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
यो सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको विप्लवको विज्ञप्तिमा उल्लेख छ।
'यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् । सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो,' विज्ञप्तिमा भनिएको छ।
उनले आइतबार घट्टेकुलो र सुकेधारामा भएका विस्फोटमा मारिनेहरू आफ्ना जनमुक्ति सेना भएको स्वीकार गरेका छन्।
'जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जाननदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ।’








