काठमाडौ, सूचना प्रविधिका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरु राजेन्द्र लिङ्देन, इन्दु शर्मा, बहादुरसिंह लामा, अनिल झा, केदार सिग्देल, विना श्रेष्ठ र गौरीशंकर चौधरी रहेका छन् । दफावार छलफल गरेर एक महिनाभित्र विधेयक प्रतिवेदन समितिलाई बुझाउन उपसमितिलाई निर्देशन दिइएको छ । बैठकमा सञ्चारमन्त्री गोकुल बास्कोटाले विदेशी सामाजिक सञ्जाल पनि करको दायरमा आउनुपर्ने बताउनुभयोे । नेपालबाट मुनाफा लादा नेपाललाई कर तिर्नु उनीहरुको दायित्व हुने उहाँको भनाइ छ ।
विधेयकमा रहेको सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी नेपालमा दर्ता हुनुपर्ने विषय विवादिन बनेको छ । यो प्रावधान हटाउनुका साथै अन्य ९ विषयमाथि २८ जना सांसदले संशोधन दर्ता गराएका छन् । यसैगरी संशोधन प्रस्तावमा अश्लील सामग्री र यौनजन्य दुव्र्यवहारका विषयका सम्बन्धमा विधेयकमा गरिएका प्रावधान पनि हटाउनुपर्ने उल्लेख छ । यसबाहेक सूचनाको दुरुपयोग गर्ने अधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने व्यवस्था थप्न संशोधन प्रस्ताव दर्ता गरिएको छ ।








