काठमाडौ, नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको आज चौथो स्मृति दिवस । कोइराला नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति थिए । उनकै प्रधानमन्त्रीत्वकालमा संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएकाले उनलाई संविधानका पिता पनि भनिन्छ । तर उनै कोइरालाको सम्झनामा कांग्रेसले एउटा औपचारिक कार्यक्रमसमेत गरेन ।
नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी सुशील कोइरालाको सम्झनामा सामान्य कार्यक्रम गरे । कोइरालाको स्मृतिमा कांग्रेस केन्द्रीय कार्यसमितिले कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरेन । कतिपयले कांग्रेसले कोइरालालाई बिर्सिएको गुनासो गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाको ८० वर्षको उमेरमा २०७२ साल माघ २६ गते निधन भएको थियो ।
कोइराला प्रधानमन्त्री रहेकाबेला नेपालको संविधान २०७२ जारी भएको थियो । पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वा्चित हुनु भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न हुनुभएको थियो । संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्नुभएको थियो ।
विक्रम सम्वत १९९६ साउन २८ गते विराटनगरमा जन्मनुभएका कोइराला अविवाहित हुनुहुन्थ्यो । २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न कोइराला नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित हुनुहुन्थ्यो । उहाँ२०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न हुनुभएको थियो ।
त्यसैगरी २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय हुनुभयो । – २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा पुर्नभएको थियो । प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जीवन विताउनुभएको कोइरालाले नेपालको विकासका लागि जलस्रोत, शिक्षा, दक्ष जनशक्ति, औद्योगिक, पर्यटन, कृषि र जडिबुटी क्षेत्रमा विकास गर्नपर्नेमा जोड दिनुहुन्थ्यो ।








