काठमाडौ, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले छानवीन गरिरहेको स्पष्ट पार्नु भएको छ ।
मन्त्री बास्कोटाले सो विमान खरिद प्रकरणबाट सरकार पछि हटने पक्षमा नरहेको पनि बताउनु भयो । बिहीबार गत सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सो प्रकरणका सम्बन्ध गठित छानवीन समितिका कुनै सदस्यले काम नभ्याए अरुलाई व्यवस्था गर्न सकिने पनि स्पष्ट पार्नु भयो । मन्त्री बास्कोटाले विपक्ष दलका नेता शेरबहादुर देउवाले समेत माग गरेपछि सरकारले सो प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरेको पनि दोहो¥याउनु भयो
मन्त्री बास्कोटाले संविधान संशोधन समय र आवश्यक्ताको आधारमा हुँदै जाने पनि बताउनु भयो । संघीय समाजवादी फोरम, नेपालले आफूहरुको माग अनुसार संविधान संशोधन तत्काल नभए सरकारबाट बाहिरिने चेतावनी दिईरहेको छ नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले राजनीतिक पार्टीहरुको आग्रहमा भन्दा पनि राष्ट्रिय आवश्यक्तालाई हेरेर संविधान संशोधन गर्ने सरकारको स्पष्ट नीति रहेको पनि बताउनु भयो ।
मन्त्री बास्कोटाले सरकारले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको कामलाई अघि बढाएकाले संघीय समाजवादी फोरम, नेपालले उठाएको कतिपय विषय त्यसमा समेटिने दावी समेत गर्नु भयो ।








