काठमाण्डौ, दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गरेर शिक्षामन्त्रीलाई रोक्ने प्रयास गरे । नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएनन् ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । तेस्रो पटकका बोलाइएको बैठक बस्नै सकेन । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए । त्यसपछि कांग्रेस र सत्तारुढ दलका सांसदबीच ठेलमठेल भयो ।
रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए । पोखरेललाई नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदले रोष्टमसम्म र्पुयाउने प्रयास गरेपनि उनी असफल भए । कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलले मन्त्री पोखरेल बीच मै रोकिए । पछि फर्किएर आफ्नै कुर्सीमा गए ।
दुबै दलका सांसदहरुबीच ठेलमठेल जारी रहँदा सभामुख महराले १५ मिनेटका लागि पुनः बैठक स्थगित गरे । प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री बन्ने प्रयास नगर्न सभामुख कृष्णबहादुर महरालाई चेतावनी दिएको छ । मन्त्रीलाई रोष्टममा बोलाउन मिल्ने गरी मर्यादापालकले कांग्रेस सांसदहरुलाई रोक्ने प्रयास गरेपछि कांग्रेस सांसदहरु मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह, गगन थापालगायत आक्रामक बने । उनीहरुले सभामुखतर्फ चोर औंला उठाउँदै प्रश्न गरे ।
कांग्रेस नेताहरु सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्ट छन् । संसदीय परम्परामा संसदलाई प्रतिपक्षीको पनि भन्ने गरिन्छ र सांसदहरुको अधिकार रक्षाका लागि कहिलेकाँही सभामुखले सरकारलाई निर्देशन दिन मिल्ने भए पनि सभामुख महराले संसदलाई सरकारको छायाँ बनाउन खोजेको कांग्रेस नेताहरुको आरोप छ । सरकार जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने र प्रमुख विपक्षी कांग्रेस रोक्ने मुडमा प्रस्तुत भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाएको छ ।
आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए ।
लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका हुन् । मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजे पनि सकेनन् । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गरे । तर कांग्रेस सांसदहरुले रोष्टम नछाडेपछि संसदको कारबाही अघि बढ्न सकेन ।








