काठमाण्डौ, प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले शान्ति सुरक्षा, वाईडवडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको माग लगायत बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको आलोचना गरेका थिए ।
आईतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले अधिकारकर्मी शारदा चन्दलाई ज्यान मार्ने धम्की आएको र सो बारे जिल्ला प्रहरी कार्यालय लगायत निकायमा उजुरी दिएकोमा सुनुवाई हुन नसकेको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।
उहाँको कल डिटेल जस्ताको तस्तै सार्वजनिक संञ्जालमा पोष्ट गरिएको भन्दै उहाँले कसरी कलडिटेल व्यक्तिको हातमा कसरी पुग्यो भन्ने बारे पनि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दिलेन्द्र प्रसाद बडूले गैह सम्बैधानिक रुपमा विश्वविद्यालयहरुमा आतंक फैलाउने काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । विश्वविद्यालयहरु स्वायत्त हुने अन्तराष्ट्रिय मान्यता विपरित इतिहासमै नभएको ज्यादती र आतंक मच्चाउने काम वर्तमान सरकारबाट भएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पुस २७ गते परिपत्र जारी गरेर सुदुरपश्चिम विश्वविद्यालयका भाईस चान्सलर र रजिष्टारलाई कुनै काम नगनूृ भनी छानविन समिति बनाईएको तथा केही दिन अगाडि मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रारमाथि पनि त्यस्तै व्यवहार गरिएको भन्दै उहाँले हस्तक्षेपकारी भुमिकामा अगाडि नबढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कमला रोका हिमाली जिल्ला रुकुम पुर्व समग्र विकासको दृष्टिले पछि परेको भन्दै सानी भेरीलाई जोड्ने सडक पुल निर्माणको काम वेवारिसे अवस्थामा रहेकाले तत्काल निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको आलोचना गरेका थिए । सरकारले गरेका प्रतिवद्धता पूरा नहुँदा जनतामा निराशा छाएको भन्दै सांसदहरुले ध्यानाकर्षण गराएका हुन् ।








