काठमाण्डौ, नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको विवेकशील साझा पार्टीमा लामो समयदेखि देखिएको कलह शुक्रबार पटाक्षेप भएको छ । संयोजक उज्वल थापालगायतपूर्व विवेकशील पक्षका १६ केन्द्रीय सदस्यले राजीनामा दिएका हुन् ।
पार्टी विभाजन हुनुमा दुवै पक्षले एकअर्कालाई दोष लगाउने गरेका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको प्रतिक्रिया दिनुभयो ।
पार्टी फुटेपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भएपनि उज्ज्वल थापालगायतले अनायाश छोडेर जान्छन् भन्ने नलागेको बताउनुभयो । यद्यपि बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान नरोकिने नरोकिने उहाँको भनाए छ । मिश्रले माथि उठ्ने क्रममा यो जटिलता आएको र अझैे एउटा विन्दुमा मिल्ने र उक्त विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टी छाडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको तर, त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफुहरु नरहेको बताउनुभयो ।
संयोजक रविन्द्र मिश्रले पार्टी सही दिशामा रहेको बताइरहेका बेला शुक्रबार पार्टी छाडेका अर्का संयोजक उज्वल थापाले त्यसलाई खण्डन गर्नुभयो । मिश्रले मनोमानी ढंगले पार्टी सञ्चालन गरेकाले विभाजन भएको उहाँको आरोप छ । निर्वाचनपछिका एक वर्षको समीक्षा गर्दै संयोजक थापाले विवेकशील साझा पार्टीे गलत बाटोतर्फ गइरहेको बताउनुभयो ।
विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले पार्टीमा आएको फुटले आफूहरु आश्चर्यमा परेको प्रतिक्रिया दिनुभयो । कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा मतभिन्नता रहेको स्वीकार गर्दै आचार्यले ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने अपेक्षा गरेको बताउनुभयो । संयोजक थापा आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रियामा जानु दुःखद भएको उहाँको भनाइ छ ।
आशातित गति नलिएको भन्दै यसअघि नै डाक्टर सरोज धिताल, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले पार्टी छोडिसकेका थिए । पार्टी व्यक्ति केन्द्रित भएको भन्दै पूर्व विवेकशील पक्षका नेताहरुले मिश्रको कार्यशैलीप्रति आलोचना गर्दै आएका थिए । तर मूल्यमान्यतामा अडिग रही जनअपेक्षाको संबोधन गर्ने सवालमा इच्छुक सबै पक्षसँग संवाद एवम् सहकार्य गर्न सँधै तयार रहेको विवेकशील साझाले बताएको छ ।








