काठमाडौ, नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर सांसदहरुबिच आरोप प्रत्यारोप भएको छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपा सांसदले प्रतिवेदन हुबहु पारित गर्न नसकिने बताएका थिए भने कांग्रेसका सांसदले भने उप–समितिको प्रतिवेदनलाई पूर्णता दिएर पारित गर्नुपर्ने बताएका हुन् । साक्षात्कारमा नेकपा सांसद बिशाल भट्टराइले विमान खरिदमा भ्रष्टाचार भएको हुन सक्नेमा सबै सहमत देखिएपनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई गरिएको कारबाही सिफारिसमा प्रश्न गरे ।
विमान खरिदको निर्णय र पहिलो किस्ता दिने समयमा पर्यटनमन्त्री रहेका जीवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी लिए पुग्ने र अन्तिम किस्ता दिएकै भरमा अधिकारीलाई हदैसम्मको कारवाहीको सिफारिस न्यायोचित नभएको उहाको भनाइ छ ।
त्यस्तै सांसद चन्दा चौधरीले वाईडबडी खरिदमा अनियमितता भएको भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई बचाउनको सरकारले समिति गठन गरेको आरोप लगाए । त्यस्तै सांसद तेजुलाल चौधरीले गल्ती भएको भन्ने जानकारी हुँदा हुँदै रकम निकासा गरेर गलत काममा सहयोग पुर्याउनेलाई कारबाही हुनुपर्ने तर्क गरे ।
कांग्रेस सांसद केसी संयोजकत्वको उपसमितिले तयार गरेको प्रतिवेदनमा बहालवाला पर्यटन मन्त्रीसहित दुई पूर्वमन्त्री, तत्कालिन दुई पर्यटन सचिव, बहालवाला पर्यटन सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार दोषी देखिएको भन्दै कारवाही गर्नुपर्ने सिफारिस गरेको छ भने सोहि प्रकरणमा छानविन गन सरकारले पनि छानविन आयोग गठन गरेको छ ।








