काठमाडौ, नेपाली कांग्रेसमा बिधान मस्यौदाका बिषयमा शीर्ष नेताहरुबीच भएको सहमति केन्द्रीय समितिमा बल्झिको छ ।
केही केन्द्रीय सदस्यहरुले दुई पद भएका पदहरुमा एउटा समावेशी हुनुपर्ने तर्क गरेपछि विवाद बढेको हो । यसले शनिबारदेखि जारी महासमिति बैठकलाई समेत थप लम्ब्याउने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष नेताहरुले मंगलबार साँझ उपसभापति, महामन्त्री र सहमहान्त्री २-२ जना राख्ने र कोषध्यक्षबाहेक सबै निर्वा्चित हुने सहमति गरेका थिए ।
त्यसअनुसार बुधबार केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले प्रस्ताव पनि ल्याउनुभयो ।
तर, देउवा पक्षीय केन्द्रीय सदस्यहरुले समावेशी नभएको भन्दै सहमतिको विरोध गरे । फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, वीरबहादुर बलायर, किशोर सिंह राठोर, एनपी साउदले समावेशी नभएको भन्दै विरोध गर्नुभएको हो ।
उहाँहरुले समावेशी बनाउने प्रयास गरेकोमा सभापति देउवालाई धन्यवाद दिँदै अर्को समूहलाई समोवशी विरोधीका रुपमा प्रस्तुत गर्ने प्रयास गर्नुभएको थियो । सभापति निकट नेताहरुले एकाएक समावेशीताको मुद्दा उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापतिबाटै धोका भएको निष्कर्ष निकालेका छन् ।








