काठमाडौ, नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।
नेपाली काँग्रेसको महासमिति बैठक स्थल मंगलबार बिहान केहीबेर तनावग्रस्त भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मंचमै उक्लिएर होहल्ला गर्न थालेका थिए । जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो । बैठक स्थगित भएपछि मंचमा माइक लिएर नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बोल्न सुरु गरेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक खोसेका थिए । माईक खोसाखोसपछि त्यहाँ घम्साघम्सीको अवस्था सृजना भएको हो । तर, काँग्रेस सहमहामन्त्री महतले भने माईक तोडफोड गर्ने हर्कत गरेपछि आफूले त्यसलाई रोक्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । उनले सभापतिले बैठक केहीबेरका लागि स्थगित गरेपछि पनि नुवाकोट जिल्ला सभापति केसीले अशोभनीय काम गरेको उल्लेख गर्दै त्यसप्रति महासमितिका सबै सदस्यहरु दुःखी रहेको दावी पनि गरे ।
सोमबारको महासमिति बैठकमा पनि विधानको मस्यौदा बैठकमा पेश गर्न ढिलाई नगर्न माग गर्दै होहल्ला गरिएको थियो ।








