काठमाडौं, नेपाली कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौंमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । कांग्रेसले संघीयताअनुसार पार्टीको विधान परिमार्जन गर्न यही मङ्सिर २९ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको छ । बैठकमा केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेका विषयहरूमा बृहत छलफल गर्दै पारित गर्दै जाने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । विशेषगरी पदाधिकारी संख्या बढाउने वा नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ ।
केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार चार सय सहभागी हुने कांग्रेसले जनाएको छ ।








