काठमाडौं, संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ ।
यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक राखिएको थियो तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो । प्रधानमन्त्री ओली र विपक्ष दलका नेता देउवाको कार्य व्यस्तताका कारण बैठक पुस ५ गते पुनः बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरका कारण पुस १७ गते अवकाश हुँदैछन् । संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ । जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधानन्यायधाधीश सिफारिस हुने सम्भावना छ ।








