काठमाण्डौ । नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदाका साथै आर्थिक र राजनीतिक प्रस्तावमाथिको छलफल पनि अघि बढाएको छ ।
पार्टी कार्यालयमा शुक्रबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बिधान मस्यौदाका बारेमा छलफल भएको हो भने शुक्रबार नै पार्टी कार्यालय सानेपामा काग्रेस उपसभापति एवं राजनीतिक मस्यौदा समितिका संयोजक बिमलेन्द्र निधीको संयोजकत्वमा राजनीतिक प्रस्ताव उपर छलफल भएको हो ।
बैठकमा शुक्रबार पनि केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको सङ्ख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको बिधानलाई समयसापेक्ष बनाउनका लागी केन्द्रिय सदस्यहरुबाट फरक फरक धारणा आएको काग्रेस प्रवक्ता शर्माले बताए ।
काङ्ग्रेसको महासमिति बैठक नजिकिदै जादा केन्द्रिय समितिमा बिभिन्न मस्यौदा उपर छलफल भएको हो । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।








