काठमाण्डौ, प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सरकारले केही दिनअघि लागू गरेको सामाजिक सुरक्षा कोष आफ्नै नयाँ कार्यक्रम झैं प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी कार्यालय सानेपामा आईतबार पत्रकार सम्मेलन गर्दै काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको पालामै पारित भएको दाबी गर्दै वर्तमान सरकारले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाए । प्रवक्ता शर्माले सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रक्रिया सुरु हुनु सुखद् र सकारात्मक रहेको भन्दै प्रचारशैली भने अनावश्यक र भड्किलो भएको बताए ।
मंसिर ११ गते सरकारले आफ्नै नयाँ कार्यक्रमझैं भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको तस्बिर सहरमा सजाएर पार्टीगत प्रचारशैलीमा प्रस्तुत गरिएको विषयप्रति कांग्रेसको ध्यानाकृष्ट भएको उहाले बताए । उनले सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवर्धक भूमिकाबाट मात्र सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भन्दै कांग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहने प्रवक्ता शर्माले बताए ।
त्यस्तै कांग्रेसले गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको र राज्यको व्यापक बजेट, साधन प्रयोग हुनु संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ ।








