काठमाडौं, सरकारले हिउँदे अधिवेशन चाँडै बोलाउने तयारी गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन चाँडै बोलाउन लागिएको जानकारी दिएका हुन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा मंगलबार आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धी एक दिने गोष्ठीमा मन्त्री ढकालले हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको पनि स्पष्ट पारे ।
मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूची र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा महान्यायाधिवक्ता अग्नि खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे जानकारी दिएका थिए ।








