काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र सांगठनिक एकताको विषयमा अलमल देखिएको छ ।
प्रदेश कमिटीका पदाधिकारी चयन भए पनि सदस्यहरूको टुंगो लाग्न सकेको छैन । केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका सदस्यको टुंगो लगाउने तथा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल बनाएको थियो ।
कार्यदलले प्रस्ताव सचिवालयमा लगे पनि सचिवालय बैठकले ठोस निर्णय भने गर्न सकेको छैन । प्रस्तावमाथि आजपनि केन्द्रीय सचिवालय बैठकमा छलफल हुने भएको छ । छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ने क पा भित्र संगठन एकता प्रक्रिया ढिलाइ भएको जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि चुलिएको छ। पार्टीका २१ जना सांसद एवं केन्द्रीय सदस्यहरूले असन्तुष्टिसहितको ज्ञापन पत्रसमेत नेतृत्वलाई बुझाएका छन ।








