काठमाडौँ, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिको फेरि दुई महिना म्याद थप गरिएको छ ।
पार्टी कार्यालय सानेपामा आईतबार साझ बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा म्याद थपको प्रस्ताव सभापति शेरबहादुर देउवाले राखेका थिए ।
बैठकले नैनसिँह महर नेतृत्वको नेविसंघलाई महाधिवेशन गर्नका लागि थप दुई महिनाको समय दिएको कांगे्रस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा संस्थापन इतर पक्षले थप दुई महिना वर्तमान कार्यसमितिलाई समय दिने संस्थापन पक्षको प्रस्तावमा विरोध जनाएका थिए । दुई महिनाभित्र पनि नेविसंघको महाधिवेशन हुन नसके सोही समयमा नै पार्टीले उचित निर्णय लिने प्रवक्ता शर्माले बताए ।
उमेर हदलगायत आन्तरिक विवादका कारण दुई वर्षमा महाधिवेशन गर्न नसकेपछि यसअघि तीन महिना म्याद दिइएको थियो ।








