काठमान्डौ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बंैकक गएको जनाइएको छ ।
बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएको हुनाले निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको जानकारी गराउँदै सो क्रममा अमेरिका न्यूयोर्क्स्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु भनी विज्ञप्तिमा जनाइएको छ ।
मुख्यमन्त्री राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा उपचारको क्रममा छ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उल्लेख गरिएको छ ।








