काठमाण्डौ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन ।
मंगलबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि चार–पाँच दिनको समय माग्दा थापाले नमानेको बताए । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले नमानेको उनले बताए ।
तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने धारणा राखे । महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले बताए । एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि सुत्र तयार भइसकेको उनको दाबी छ ।








