भक्तपुर, नेपाली कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन गरेको छ ।
भक्तपुरमा आयोजित सुझाव संकलन कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताए । उनले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिंदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखी आर्थिक नीतिलाई मात्र जोड दिएको बताए । आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ अन्तर्गतका ११ जिल्लाका पार्टी सभापति र प्रदेश सांसद गरी ४० जनाको सहभागिता रहेको र सहभागीहरुले पार्टीले बनाउन थालेको अर्थिक नीति निर्माणका लागि महत्वपूर्ण सुझाव दिने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन बहादुर शाही, ३ नं.प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बाँनियाँ लगाएतले कांग्रेसको आर्थिक नीति परम्परागत भन्दा पनि परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका थिए ।








