काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले दुइतिहाई बहुमतको दुरुपयोग नगरेको स्पष्ट पारेका छन् ।
शनिबार नेकपा काठमाडौं क्षेत्र नंवर १ ले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले दुइतिहाई बहुमतको दुरुपयोग नगरेको भन्दै कुनै दम्भ पनि नरहेको स्पष्ट पारे । उनले अहिले सरकारको एकमात्र लक्ष्य मुलुकको बिकास र समृद्धि मात्र भएको धारणा राखे । वर्तमान सरकार गठन भएको आठ महिनामा सरकारले बिकास र समृद्धिको जग बसाल्ने काम गरेको उनले बताए ।
उनले नेपालमा संघियता नौलो प्रयोग भएको भन्दै यसको कार्यान्वयनका क्रममा तीन तहका सरकारबिच केहि असमझदारी हुनु सामान्य भएको टिप्पणी गरे । मन्त्री ज्ञवालली केहि घटनालाई मुद्धा बनाएर सरकारलाई असफल र बद्नाम बनाउने प्रयास भईरहेको भन्दै यसप्रति सरकार र नेकपा सचेत रहेको जिकिर गरे । निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बिषयमा सरकार निकै संवेदनशिल भएको भन्दै उनले अपराध नियन्त्रणमा सरकार कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।
त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले अहिले नेपाल र छिमेकीमुलुकबिचको सम्बन्ध सुमधुर भएको भन्दै बैदेशिक लगानी भित्र क्रम पनि बढेको बताए ।








