काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दावी गरेका छन् ।
सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरे । शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको दावी गरे ।
त्यसैगरी डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे ।
अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि दोहो¥याए । बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ ।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।








