काठमाडौँ, प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषण गरेका छन् ।
संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उनले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिए । सांसद मानन्धरका अनुसार पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा बताएका हुन् । आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने स्पष्ट पारेका छन् ।
पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिने मनस्थिति बनाएको सांसद मानन्धरले जानकारी दिए ।
सांसद मानन्धरले भने, “हाम्रो सङ्गठन चुस्त छ, जनतालाई घरघरमा गएर आश्वस्त तुल्याएर उपनिर्वाचनमा सहजरुपमा जित हासिल गर्न सक्छौँ ।” पार्टीको सचिवालय बैठकले राजीनामा दिन अनुमति पाऊँ भनी आफूले दिएको निवेदनलाई अनुमोदन गर्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी दिए । तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको दुई पटक वडाअध्यक्ष, २०७० सालको संविधानसभाको निर्वाचनमा सांसद भई जिम्मेवारी सम्हाली सकेका सांसद मानन्धर पार्टी्भित्र परिपक्व राजनीतिज्ञको रुपमा परिचित छन् ।








