असार २,२०८३ / ०४ : २७ अपरान्ह / 2026-06-16 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपामा विवाद चुलिदो, सचिवालय बैठक निष्कर्षविहिन

      - ७ वर्ष अगाडि
      असोज २२,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बुधबार पुनः बस्नेगरि स्थगित भएको छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक डाक्नेलगायतका कार्यसूची टुंग्याउन नसकेपछि बैठक पुनः बुधबार बस्नेगरी स्थगित भएको हो । सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।

      सोमबार बसेको नेकपा सचिवालय बैठकले एजेण्डाहरु तय गरेको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष, सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता माधवकुमार नेपालले लिखित असहमति नै दर्ता गरेका छन् । सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए । 

      सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा गरेको प्रतिनिधित्व, अर्का अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण, नेता माधव नेपाल, प्रवक्ता श्रेष्ठको चीन भ्रमण र त्यहाँ भएको छलफलबारे बैठकलाई जानकारी गराइको थियो । 

      २४ गते बस्ने सचिवालयको बैठकको कार्यसूची पनि तय भएको छ । प्रधानमन्त्री ओलीले महासभामा विशेष गरेर नेपालको शान्ति प्रक्रिया, निर्वाचनपछिको विकासको गति आदिबारे अन्तर्राष्ट्रिय समुदायलाई सुसूचित गराएको कुरा बैठकमा राखेको श्रेष्ठले जानकारी दिए । प्रदेश र जिल्ला तहका कमिटी एकीकरणका लागि पर्याप्त छलफल गर्नुपर्ने, सरकार, पार्टी सञ्चालनबारे घनिभूत छलफल गर्न समय पर्याप्त नभएकाले पुनः बैठक बस्ने र त्यस बैठकले स्थायी कमिटीको बैठकमा पेश गर्ने एजेन्डा, कार्यसूची, प्रस्तावसमेत तयार पार्ने छ । 

      पछिल्लो समय तेस्रो वरियताका नेता माधवकुमार नेपालले सरकार र पार्टी सञ्चालनप्रति सार्वजनिक रूपमै असन्तोष प्रकट गर्न थालेपछि विवाद उत्पन्न भएको छ । त्यसलाई सचिवालय र स्थायी कमिटीको बैठकबाटै हल गर्ने प्रयास भइरहेको छ ।

        सम्बन्धित समाचारहरु