काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन थप मेहनत गर्ने बताएका छन ।
दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी भित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
सरकारको कामलाई लिएर पार्टी भित्रैबाट चर्को आलोचना भईरहेका बेला अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने योजना अघि सारेका हुन । उनले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि जानकारी दिए ।
पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएकाले त्यस्ता नकारात्मक तत्वलाई परास्त गर्ने चेतावनी पनि उनले दिए । पार्टी संगठनहरुको एकीकरणको विषयमा भोली बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने उनको भनाइ छ ।








