काठमाण्डौ, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महरले सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको भन्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । उनले चाडपर्वको मुखमा ३ सय प्रतिशतसम्म मूल्यवृद्धि भएकोमापनि आपत्ति जनाए ।
त्यस्तै अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महिनौं बित्दापनि अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको भन्दै प्रहरी प्रशासन चुकेको आरोप लगाए । प्रहरी प्रशासनले यो घट्नाको प्रमाणहरु नष्ट पारेको र प्रभावकारी रुपमा अनुशन्धान नगरेको आरोप लगाउदै उनले गृहमन्त्रीको राजीनामा माग गरेको स्पष्ट पारे ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुले निर्मलाको न्यायको निम्ति हिजो गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्पष्ट पारेका थिए । तामाङले जघन्य अपराधमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।








