असार २,२०८३ / ०४ : २५ अपरान्ह / 2026-06-16 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अघि बढायो

      - ७ वर्ष अगाडि
      असोज १९,२०७५

      काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । 

      एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ ।

      गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए । 

      महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ । पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए । 
      त्यस्तै, प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए । हामी सबै समितिको टुङ्गो लगाउने प्रयासमा छौं, सबैको टुङ्गो नलागेपनि जिल्ला समितिको टुङ्गो लगाएर केन्द्रलाई सिफारिश गर्छौं, उनले भने ।

      प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले जिल्ला समितिको एकीकरण लगभग टुङ्गो लागिसकेको जानकारी दिए । अब एक÷दुई वटा जिल्लामा मात्र मिलाउन बाँकी छ, उहाँले भन्नुभयो । जिल्ला तहको एकीकराण दशैं अघि टुङ्गो लाग्ने बताउँदै उनले भने, एकीकरणको प्रतिवेदन तयार गरेर चाँडै केन्द्रलाई बुझाउने तयारीमा छौं । 
      प्रदेश ५ मा पनि जिल्ला समितिको एकीकरण गरेर दशैंअघि नै केन्द्रलाई सिफारिश गर्ने तयारी भइरहेको छ । प्रदेश समिति अध्यक्ष ओनसरी घर्तीले भन्नुभयो, ‘जिल्ला समितिको एकीकरणको प्रक्रिया अन्तिम चरणमा छ, हामीले छिट्टै नै केन्द्रलाई सिफारिश गर्नेछौं । केन्द्रले कति छिट्टो त्यसको टुङ्गो लगाउँछ, बाँकी प्रक्रिया त्यसमा भरपर्छ ।’ गाउँ तथा नगर समितिको एकीकरण तयारीका लागि पनि कार्यदल गठन भैसकेको उनले बताए । 

      स्थानीय तहमा सात तहका समिति रहने प्रावधान विधानमा छ । जसअनुसार भूगोलका जिल्ला समिति–१२५ जनाको रहने छ । थप्न परे एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १८ जनाका दरले सदस्य थप्न सक्ने व्यवस्था विधानमा गरिएको छ । 

      त्यस्तै ७५ जनाको विशेष जिल्ला समिति, १२५ जनाको महानगर समिति, १०१ जनाको उपमहानगर समिति, ८१ जनाको नगर समिति, ७५ जनाको गाउँपालिका समिति, ४५ जनाको महानगरका वडा समिति, ३५ जनाको उपमहानगर वडा समिति, २९ जनाको नगर र गाउँका वडा र शाखा समिति, १९ जनाको नगर र गाउँका टोल र प्रारम्भिक समिति र १५ जनाको पार्टी सेल सदस्य रहने व्यवस्था विधानमा छ । 

      यता, जनवर्गीय संगठन, विभिन्न विभाग तथा शुभेच्छुक संगठनको एकीकरण टुङ्गो लगाउन बाँकी नै छ । जनवर्गीय संगठन एकताका लागि गठन भएको कार्यदलले आ–आफ्नो प्रतिवेदन सचिवालयलाई बुझाई सकेको छ । प्राप्त प्रतिवेदनका आधारमा पार्टीका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदस्यको टुङ्गो लगाउने नेकपाका नेता देव गुरुङ्गले जानकारी दिए । 

      कतिपय समिति सर्वसम्मतिले टुङ्गो लागेका छन् भने कतिपयमा विवाद पनि छ । विवादसहितको प्रतिवेदन पनि सचिवालयमा बुझाइएको छ । विवादलाई मिलाएर समितिको टुगों लगाउने जिम्मेवारी अध्यक्षलाई दिइएको छ । गोरखापत्र दैनिकबाट


        सम्बन्धित समाचारहरु