विराटनगर, विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि सुरु भएको छ ।
विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल सुरु गरिएको हो । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा विराटनगरमा अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका थिए ।
सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताएका थिए । नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरु लागिपरेको बताए । विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवलाई ध्यानमा राखी विराटनगरलाई नै राजधानी घोषणा गर्नुपर्ने धारण राखिन ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर बाहिर राजधानी घोषणा गर्नु दुर्भाग्यपुर्ण हुने बताए । अन्तरक्रिया कार्यक्रममा चिकित्सक कैलाश श्रेष्ठ, सामाजिक अभियन्ता दुर्गा चापागाई, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, साहित्यकार दिनेश सुवेदीलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन सङ्घर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।








