असार २,२०८३ / ०४ : २५ अपरान्ह / 2026-06-16 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको संम्बोधन, नेपालको राजनीतिक संक्रमणको अन्त्य अभिप्रेरणा बन्न सक्छ

      - ७ वर्ष अगाडि
      असोज १२,२०७५

      न्यूयोर्क, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक संक्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । 

      संयुक्त राष्ट्रसंघ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए । 

      उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए । 

      प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । उहाँले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताए । 

      प्रधानमन्त्री ओलीले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको बताए । उनले शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व यस संविधानको प्रमुख विशेषता भएको जानकारी दिए । 

      प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताए । उहाँले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गरे । 

      प्रधानमन्त्री ओलीले निर्वाचनले बलियो सरकार दिएको, आफूले नेतृत्व गरेको सरकारसँग संसदमा तीन चौथाई समर्थन प्राप्त भएको र प्रान्तका सरकारहरुले पनि बलियो बहुमतको समर्थन प्राप्त गरेको उल्लेख गरे ।। 

      प्रधानमन्त्री ओलीले वर्तमान विश्व विनाश तथा बचनबद्धताको मौलिक विरोधाभाषसँगै महत्वपूर्ण सङ्घारमा उभिएको र गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, बलपूर्वक विस्थापन तथा प्राकृतिक प्रकोपदेखि हतियारको प्रतिस्पर्धासम्मका चुनौतीहरु विश्वसमुदायले भोगिरहेका उल्लेख गरे । उहाँले सभाध्यक्षले यसै साता सभालाई सम्बोधन गर्दा रेखाङ्कित गरेको सातवटा प्राथमिकताका क्षेत्रलाई नेपालले समर्थन गर्ने बताए । 

        सम्बन्धित समाचारहरु