काठमान्डौ, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले कम्यूनिष्ठ सरकारलाई समर्थन र सहयोग गर्नुभनेको कुकुरको पुच्छरमा तेल लगाउनु सरह भएको टिप्पणी गरेका छन् ।
वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ओली सरकारलाई राम्रो काम गर्ला कि भनेर मात्र सहयोग गरेको बताए । तर कुकुरको पुच्छरमा जति घ्यू दलेपनि सोझो नभई बाङ्गोको बाङ्गै हुने भन्दै उनले व्यङ्ग्य गरे ।
नेता महतोले ओली सरकारले अहिले पनि प्रदेश नम्बर २ लाई विभेदकारी दृष्टिले व्यवहार गरिरहेको आरोप लगाएका छन् । सात प्रदेश मध्ये ६ प्रदेशमा कम्यूनिष्ठ सरकार भएपनि २ नम्बर प्रदेशमा केन्द्रिय सरकारले हेला गरिरहेको बताए ।
देशमा संघीयता समाप्त पार्न र देशको अखण्डता माथि प्रहार गर्न केही तत्वहरु सक्रिय रहेको महतोको भनाई थियो । करको नाममा सङ्घीयता ढाल्ने खेल भइरहेको भन्दै सचेत रहन पनि उनले आग्रह गरे ।








