काठमान्डौ, चाडपर्वका बेला जनतालाई आर्थिक भार थप्ने गरी भाडादर वृद्धि गरिएपछि सत्तारुढ दलकै भातृ संगठनहरु सडकमा ओर्लिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियूले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।
अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दैे भाडा बृद्धि तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले बताएका छन् ।
विद्यार्थी सघंको पनि विरोध
प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले भाडा वृद्धिको विरोधमा सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको थियो ।
व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै सत्तापक्ष र प्रतिपक्ष दलका विद्यार्थी विरोधमा उत्रिएका हुन् ।








