काठमाडौँ, प्रधानमन्त्री केपी ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिए ।
क्यानडाका प्रधानमन्त्री टुडोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गरिन । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित थियो ।








