काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलन गरिरहेको छ । नयाँ संविधानअनुसार संघीय संरचना लागु भइसकेपछि कांग्रेसले पनि आफ्नो संगठन परिमार्जन गर्न लागेको छ । यसैका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाइएको हो ।
पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारबाट सुझाव संकलनको काम सुरु गरिएको हो । विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिइनेछ । पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको थियो ।
भेलालाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराएका थिए । सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
सम्बोधनका क्रममा देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन पनि नेता, कार्यकर्तालाई आह्वान गरे । उनले नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने बताए ।
विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानवीन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई काँग्रेसको मंसीरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ ।








