काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विकास र समृद्धिकै यात्रामा सरकार अघि बढिरहेको दावी गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सबैखाले बाधा र षडयन्त्र चिरेर देश विकास गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामले जनताका विश्वासमा तलमाथि हुन दिइने स्पष्ट पारेका छन् । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू सक्रिय भएको भन्दै यसबाट केहि नहुने समेत जिकिर गरे ।
ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको बताए । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने उल्लेख गरे ।
कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै उनले सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट पारे । कुखुराको चल्लाले सानो कुरा भेट्दा सबै चल्ला पछि लगे जस्तै सरकारको बिषयमा फैलाएका अफवाहमा पछि नलाग्न ओलीले आग्रह गरेका छन् ।
त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको दावी गरे । जनताको ईच्छा अनुसार नै पार्टी एकता भएको भन्दै उनले अब मुलुकको बिकास र समृद्धिका लागी सरकार प्रतिवद्ध भएर लाग्ने बताए ।
नेकपाले साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बहारहीमा विशेष कार्यक्रम गरेको थियो । विक्रम संवत २०४६ को जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गरेकी थिइन् । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको छ ।








