काठमान्डौ, संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै कानून विधिसम्मत ढंगले पारित गरिएको जनाएको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि कानून तोकिएकै समय भित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराएका हुन् ।
असोज ३ गते भित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले बताए । उनले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पु¥याएरै पारित गरिएको पनि स्पष्ट पारे । भदौं ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाले मौलिक हकसँग सम्बन्धि १६ वटा कानुन पारित गरेको छ ।
सभामुख महराले मौंलिक हकसँग सम्बन्धित कानुन निर्माणका लागि सहयोग गरेकोमा सरकार, प्रमुख प्रतिपक्ष दललगायतका सबै राजनीतिक दल, संसदीय समितिहरु, संसद सचिवालयका सबै कर्मचारीहरुलाई पनि धन्यवाद दिए । उनले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रिय सभामा रहेको ३ वटा विचाराधिन विधेयक पनि १५ दिन भित्र पारित गरी सक्ने योजना पनि सार्वजनिक गरे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेश गर्न सरकारलाई ताकेता गरिरहेको बताए । उनले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा सो विधेयकलाई उच्च प्राथमिकता दिनु परेको पनि स्पष्ट पारे ।
सरकारले हालसम्म ३२ वटा विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।








