काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन असोज ५ गते हुने भएको छ ।
प्रतिनिधीसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले असोज ५ गते ११ बजेका लागि निर्वाचनको मिति तय गरेका हुन् । यसअघि पटक–पटक निर्वाचनको मिति तय गरिए पनि सभामुख महराले मिति सार्दै आएका थिए । निर्वाचनको मिति घोषणा अघि दलहरूले समितिमा रहने सदस्यहरु हेरफेर गरेका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन् । सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति मात्र दिने तयारी गरेको छ । यस्तै सोमबारको प्रतिनिधीसभा बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ । नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम (२) बामोजिम समिति गठन गरिएको सभामुख महराले जानकारी दिए ।
समिति सदस्यमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, गणेश ठगुन्ना, प्रभु साह, भीमबहादुर रावल, डाक्टर मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मी परियार, खेम लोहनी, दुर्गा पौडेल, पम्फा भुसाल, निरादेवी जैरु र देवप्रसाद तिमल्सिना रहेका छन् ।समितिमा चार सदस्यले राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्नेछन् । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २ गते बोलाईएको छ ।








