काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा रहेकोे बताएका छन् ।
प्रधानमन्त्री ओलीले कृषि, उर्जा र पूर्वाधार विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारेका छन् । बुधबार ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले चीनसँग पारबहनसम्बन्धि प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि स्मरण गराए । उनले तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारबहनसम्बन्धि सहमतिले नेपाल भूपरीवष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा संचालन, लगानी अभिवृद्धि गर्न लागेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने दावी पनि गरे । उनले दुवै देशसँग मिलेर नेपालमा रेल सेवा विस्तार गर्ने तयारीको कामलाई अन्तिम चरणमा पु¥याएको पनि जानकारी दिए ।








